पाल्पा। तानसेन नगरपालिकाकाभित्रका बस्तीमा सडकको पहुँच नहुँदा कृषि उत्पादन बजारसम्म निकासी गर्न समस्या भएको छ। सडक नहुँदा आफ्ना खेतबारीमा उत्पादित तरकारी बजार पुर्याउन नै यहाँका किसानलाई समस्या भएको छ ।
तानसेन नगरपालिका–१०, जमुनाखर्ककी सीतादेवी आलेले १० वर्ष अघिदेखि तरकारी खेती गर्थे । दलित तथा जनजाति बस्ती रहेको यस क्षेत्रमा व्यावसायिक रुपमा तरकारी खेती हुँदै आएको छ । यसमध्येकी उनी पनि ठूलो मात्रामा व्यावसायिक रुपमा तरकारी खेती गर्छन् ।
तरकारी खेतीबाट वार्षिक रु तीन चार लाख आम्दानीसमेत हुन्छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटबल सडकखण्डको जहरेपिपलदेखि जमुना खर्चसम्म सडक नहुँदा यहाँ उत्पादित तरकारीलगायतका बस्तु निकासीमा समस्या नहटेको आलेको गुनासो छ । जहरेपिपलदेखि जमुनाखर्कसम्म झण्डै एक किलोमिटर पैदल हिँड्नसमेत सडक नभएको हो ।
गाँउबस्तीमा सडक आउँछ आउँछ भने पनि स्थानीयवासीले गाडी र फराकिला सडक देख्न सिद्धार्थराजमार्गअन्तर्गतको जहरेपिपलमा पुग्नुपर्ने बाध्यता हटेको छैन ।
स्थानीय सरकारको नेतृत्व जनप्रतिनिधिले पाएपछि उत्साहित बनेका नागरिक बस्ती सडक नहुँदा अझै पनि पहुँचवालाले मात्रा योजना प्राप्ति गरेको गुनासो छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा पनि घन्कियो । तर, सडक नहुँदा लास घाटमा, विरामी र सुत्केरी महिलालाई अस्पताल पुर्याउन समस्या छ । सडक नहुँदा ढुङ्गामा टेकेर खेतका डिल तथा खोलाका किनारामा ज्यान जोखिमा राखी यात्रा गर्नुपर्ने बाध्यता छ।