काठमाडौं। काठमाडौंका चाबहिल र मित्रपार्कमा तीन वटा आकाशे पुल निर्माण हुने भएको छ। काठमाडौं महानगरपालिकाले यात्रुको बढी चाप हुने स्थान चाबहिल र मित्रपार्कमा पुल निर्माण गर्ने भएको हो ।
चाबहिल र बौद्ध जाने बाटोतर्फ र चाबहिल मित्रपार्कमा आकाशे पुल निर्माण हुन लागेको काठमाडौं महानगरले जनाएको छ। उक्त पुल निर्माणको लागि एक करोड ८८ लाख ८५ हजार रुपैयाँ बजेट छुट्याइएको महानगरले जनाएको छ।
एउटा पुल विष्णुमती लिङ्करोडमा बन्ने भएको छ । यो पुल ७८ लाख ४८ हजार रुपैयाँ बजेटमा निर्माण हुने बताइएको छ। यी तीन पुल टेन्डर भएर ठेक्का प्रक्रियामा अगाडि बढेका छन् । उक्त पुल निर्माणको कार्य ठेक्का भएको २ वर्षपछि सम्पन्न हुने छ।