काठमाडौं। पूर्वपश्चिम राजमार्गको चितवनको नारायणगढ र पूर्वी नवलपरासीको गैँडाकोट जोड्न बनाउने भनिएको पुल योजनामा मात्र सिमित भएको छ। २०७३ सालबाटै सडक विभागले ‘सिग्नेचर’ ब्रिज बनाउन ल्याएको योजना योजनामा मात्र सिमित भएको हो।
सरकारले योजनाअनुसार काम नगर्दा यहाँ पुल बन्न नसकेको सडक विभागका अधिकारीहरुको भनाइ छ। सडक विभागको यहाँ पुल बनाउने योजनाका कारण नारायणगढ–बुटवल खण्ड विस्तारका क्रममा पनि नयाँ पुल बनाउने गरी ठेक्का लगाइएन । तर अहिलेसम्म पनि सो पुल योजनामा मात्रै सीमित छ ।
नेपाल भरतपुर र गैँडाकोटमा बढेको शहरीकरण र राजमार्गमा बढ्दो चापका कारण नरायणी नदीमाथि अर्को पुल बनाउनु अत्यावश्यक भएको सडक विभागले पनि महसुस गरेको छ। विभागले पुल बनाउन डिजाइन गरेर अर्थमन्त्रालयमा स्रोत सुनिश्चिताका लागि पठाए पनि लागत महँगो भएको भन्दै अर्थ मन्त्रालयले सहमति नदिएको विभागको भनाइ छ। यस योजनाका लागि मन्त्रालयले सहमति नदिएपछि अरू नदीमाथि कलात्मक पुलहरू बनाउने योजना अघि बढ्न नसकेको बताइएको छ।
सडक विभागको दोस्रो पुल सुधार तथा मर्मत योजनाअन्तरगत देशका १० स्थानमा कलात्मक पुलहरु बनाउने योजना बनेको थियो । यसमा विश्व बैंकबाट सहयोग जुटाउने योजना भएपनि विभागले अर्थ मन्त्रालयबाट सहमति पाएन ।