म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङस्थित छ्यारछ्यारेमा पक्की मोटरेबल पुल निर्माण गरिएको छ। उक्त स्थानमा ४० मिटर लम्बाइ भएको पक्की मोटरेबल पुल निर्माण गरिएको हो।
पालिकाको वडा नम्बर १ निस्कोटलाई गाउँपालिका केन्द्रसँग जोड्न म्याग्दी खोला माथी पक्की मोटरेबल पुल निर्माण गरिएको हो। पक्की पुल नहुँदा विगतमा वर्षातका समय यातायात अवरुद्ध हुने गरेको थियो । पक्की पुल निर्माण भएसँगै आवतजावतमा सहज भएको स्थानीयले बताए।
पूर्वाधार विकास कार्यालय म्याग्दीले चार करोड ४५ लाख ८१ हजार रुपियाँमा ठेक्कामार्फत स्टिल ट्रष्ट प्रविधिको मोटरेबल पुल निर्माण गरेको कार्यालयले जनाएको छ।
पुल निर्माणका लागि कार्यालयले प्रदिप जुम्ली जेभीसँग २०७७ साउन ४ गते दुई वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरेको थियो। सम्झौता मितिमा पुल निर्माण सम्पन्न नभएपछि कार्यालयले एकवर्ष समयअवधि थप गरेको थियो । पछिल्लो पटक थपिएको म्याद यही असोज ३० गतेसम्म कायम थियो । थपिएको समयभित्र पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ।