ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा पक्की मोटरेबल पुल निर्माण भएको छ। फक्ताङ्लुङ गाउँपालिकाको वडा २ खेजेनिम र वडा ३ लिङ्खिमको सिँवा जोड्नेगरी तमोर नदीमा पुल निर्माण गरिएको हो।
कोशी प्रदेश सरकारको ९ करोड ८१ लाख लागतमा पुल निर्माण भएको हो। मैनाचुली निर्माण सेवा प्रालि झापाले भ्याटसहितको उक्त बजेटमा मोटरेबल पुल निर्माण गरेको हो ।
कोरोना महामारीका कारण सुरुको सम्झौताअनुसारको अवधिमा काम सम्पन्न भएको थिएन । पछि थप भएको समयावधि भने २०८० असार मसान्तसम्म भएकोमा सो समय अगावै अर्थात् असार १५ भित्रै पुल निर्माणको कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।
तमोर नदीमा पुल बनेसँगै लामो समयदेखि पुलको अभावमा यातायात सुविधाबाट वञ्चित रहेका स्थानीयवासी राहत मिलेको छ । पुल निर्माणपछि अब बाह्रै महिना यातायात सेवा सञ्चालन हुने भएको छ। पुल निर्माणसँगै यातायात सुविधा पुगेपछि फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन, वडा २ खेजेनिम र वडा ३ इखाबुको तल्लो क्षेत्रका बासिन्दालाई राहत पुगेको छ ।
पुल निर्माण भएपछि यस वर्षदेखि बर्खा समयमा पनि गाउँबस्तीसम्म यातायात साधनहरू सञ्चालन हुँदा स्थानीयवासीमा खुसीयाली छाएको छ।
खाद्यान्नलगायतका आवश्यक सामग्री गाउँसम्म ढुवानी गर्न र अलैँची, गोलियालगायत निर्यातजन्य सामान निकासी गर्नलाई समेत सहज भएको छ ।