ताप्लेजुङ। राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर निर्माण द्रुत गतिमा अगाडी बढी रहेको छ। कोरिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ गोलासम्म अहिले ट्रयाक खोल्ने काम अगाडी बढेको हो।
निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेका अनुसार आगामी फागुन मसान्तसम्म चीनको सीमावर्ती क्षेत्रसँग जोड्ने गरी काम भइरहेको छ। ‘चीनको रिउ बजारसँग कोरिडोर जोडिनेछ,’ टिप्ताला नाकादेखि ओलाङचुङगोला हुँदै गैरी पाटीसम्म ३५ किलोमिटर लामो ट्रयाक दुई वर्षअघि नै खोल्ने काम भइसकेको छ।’
भारत र चीनसँग सडक सञ्जालले जोड्ने आयोजनाका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए। सुनसरीको चतरादेखि ओलाङ्चुङगोलासम्म उक्त कोरिडोर २३० किलोमिटर लामो छ। तमोर कोरिडोरको कूल लम्बाइ २५४ किलोमिटर रहेको छ।
कोरिडोरको ट्रयाक निर्माण अन्तिम चरणमा पुगेको पौडेलले जानकारी दिए। ओलाङ्चुङगोलामा ३०० मिटर ट्रयाक निर्माण सकिएको छ। तमोर कोरिडोरअन्तर्गत अहिले धनकुटा, पाँचथर र ताप्लेजुङमा काम भइरहेको छ। उक्त खण्डमा १० पुल निर्माणाधीन अवस्थामा छन्।
२०६५ सालमा उक्त कोरिडोरको निर्माण सुरु गरिएको हो। सडक उपभोक्ता समिति गठन गरी निर्माण प्रारम्भ भएको हो। भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको हो। सडक निर्माणमा हालसम्म ४० करोड २० लाख खर्च भएको आयोजनाले जानकारी दिएको छ। उक्त सडकले नेपाललाई भारतको जोगवनी र चीनको तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग जोड्नेछ।