विराटनगर। सडक निर्माणमा ढिलासुस्ती भएपछि आन्दोलित भएका विराटनगर महानगरपालिका बासिन्दाले नेतालाई प्रवेश निषेध गरेका छन्। महानगरपालिकाको कोशी लोकमार्गदेखि पश्चिमतर्फको सडक निर्माणमा ढिलाई भएपछि स्थानीयले उक्त क्षेत्रमा नेतालाई प्रवेश निषेध गरेका हुन्।
शनिबार महानगरपालिकाको वडा नम्बर ४ र ५ जामुनगाछीका स्थानीयले विरोध कार्यक्रम आयोजना गर्दै सडक निर्माणमा राजनीतिक दलका नेताहरुको दुरगामी दृष्टिकोण नहुँदा आन्दोलित हुनुपरेको जानकारी दिए। सडक निर्माणमा भएको ढिलासुस्ती अन्त्य नभए संघर्ष चर्काएर नेताहरुलाई कानुन अनुसार कारबाहीका लागि दबाब दिने उनीहरुले बताए।
स्थानीयका अनुसार आफूहरुको माग पूरा नभएसम्म नरोकिने बताएका छन्। हामीले कुनै एकदललाई निषेध लगाएका होइनौँ। अहिलेको अवस्था हेर्दा सबै दलका नेताको स्वार्थको शिकार हामी भयौँ। त्यसैले हाम्रो माग पूरा गर्नेतर्फ नलागेमा नेतालाई हाम्रो ठाउँमा छिर्नै नदिने स्थानीयको भनाइ छ।
विराटनगर–४ र ५ को गणेश चोकबाट पश्चिम केशलिया खोलासम्मको करिब ३ किलोमिटर सडक मर्मतको पर्खाइमा रहेको छ। आन्दोलनका क्रममा स्थानीयले लोकमार्ग पश्चिमको क्षेत्र महानगरपालिका –५ का वडाध्यक्ष मीनकुमार आचार्य, ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल लगायतको बेवास्ताको शिकार बनेको गुनासो गरेका छन्।
सडक निर्माण नभएपछि उनीहरुले यसअघि २३ बुँदे माग राखेर आन्दोलनमा होमिएका हुन। सडक निर्माण हुननसकेको बताउँदै उनीहरुले विभिन्न १९ वटा सरकारी निकाय समक्ष २३ बुँदे माग पेश गरिसकेका छन्।