कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनोट, बजेट विनियोजनमा प्राथमिकता दिइएको बताए। दोस्रो पञ्चवर्षीय योजना निर्माणको क्रममा मुस्ताङमा आयोजित सरोकारावालाहरुको अन्तरक्रियामा मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्।
उनले भने, ‘‘गण्डकी प्रदेश समृद्धिको मुख्य क्षेत्र पर्यटन हो, यसमा पनि जिल्लागत विविधता छ। मुस्ताङलाई हामीले पर्यटन र कृषिमा केन्द्रित गरेका छौँ ।’’
मुक्तिनाथ मन्दिर, कागबेनी धार्मिक क्षेत्र, कोरोला नाका र उच्च हिमाली मैदानमा खेल अभ्यास गर्ने पर्यटकलाई लक्षित बजेटसहित कार्यक्रममा प्रदेश सरकारको प्राथमिकता रहेको उनले बताए।
उनले भने, ‘‘पर्यटनसँगै कृषिलाई पनि प्राथमिकता दिनुपर्छ, यहाँ उत्पादन हुने कयौँ थरीको स्याउ, आलु निकै प्रख्यात छ । हरेक रेष्टुरेन्टका मेनुमा हुने मुस्ताङी आलु हामीले पुर्याउन सकेका छैनौँ, अब पुर्याउने गरी सामूहिक खेती गर्नुहोस्, प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान दिनेछ।’’