काठमाडौं। घोराही-तुलसीपुर चार लेन सडक खण्डको काम सुरू गरिएको छ। घोराहीमा एक कार्यक्रम आयोजना गरी शुक्रबार काम सुरु गरिएको हो।
उक्त सडकको काम तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले पाएको छ। नेपाल सरकारसँग निर्माण कम्पनीले गरेको पहिलो सम्झौता समाप्त भइसकेपछि बल्ल काम सुरु गरिएको हो।
२ वर्षमा काम सम्पन्न गरिसक्ने सम्झौता थियो। तर, निर्माण कम्पनीका स्थानीय प्रतिनिधिको चरम लापरबाहीका कारण दुई पटक म्याद थपे पनि कार्य प्रगति भने भएन। दुई वर्षको अवधिमा जम्मा भौतिक प्रगति ७ प्रतिशत र आर्थिक प्रगति १४ प्रतिशत मात्रै भएको पाइएको छ।
पत्रकारसँग कुरा गर्दै तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट मुम्बईका प्रबन्ध निर्देशक प्रवीण ब्रम्हदेव पाण्डेले आफूलाई कम्पनीका स्थानीय प्रतिनिधिले काम हेर्नका लागि नेपाल आउनै नदिएको दाबी गरे। उनले आफूलाई झुक्याउने गरेको बताए। उनले भने, सबै ठिक छ भन्दै हामीलाई उतै अल्मल्याउन खोजेको अहिले आएर हेर्दा मैले थाहा पाएँ।
उनले अहिले भने आफू नेपाल प्रहरीका एसपी र परियोजनासँग समन्वय गरेर मुस्किलले दाङसम्म आइपुगेको बताए। कम्पनीबाट काममा भएको ढिलासुस्तीबारे उनले सार्वजनिक रूपमै क्षमा मागेका थिए। अब दिनरात काम गरेर एक वर्षभित्रै सडक निर्माणको काम सक्ने उनले जानकारी दिए।
दोस्रो पटक थपिएको मिति अनुसार यो परियोजना निर्माणको काम सन् २०२२ मे महिनाभित्र पूरा गरिसक्नु पर्ने छ। परियोजनाका प्रमुख डिभिजनल इञ्जिनियर पारस हमालका अनुसार काम सन्तोषजनक भएको अवस्थामा पुनः ५/६ महिना थप गर्न सकिने छ।