काठमाडौं। गोरखाको छेकम्पार र चुम्चेत जाने मुख्य बाटो लोक्पामा पहिरोका कारण अवरुद्ध पदमार्ग खुलाउन गण्डकी प्रदेश सरकारले पहल गर्ने भएको छ। चुमनुब्री गाउँपालिका ६ लोक्पामा पहिरोका कारण तीन महिनादेखि अवरुद्ध पदमार्ग खुलाउन आवश्यक पहल गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय गोरखामा शनिबार जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँगको भेटघाटका क्रममा मुख्यमन्त्री पोखरेलले लोक्पामा पहिरो व्यवस्थापन गरी तत्कालका लागि कम्तीमा खच्चड आउजाउ गर्न सक्ने गोरेटो बाटो निर्माणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
पहिरोको दिर्घकालिन व्यवस्थापन गरी उक्त क्षेत्रका बासिन्दाको आवतजावात, सहज रुपमा खाद्यान्न आपूर्ति तथा ढुवानीका लागि पनि प्रदेश सरकार गम्भिर रहेको उनले जानकारी दिए।
पहिरो व्यवस्थापन तथा पदमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पनि पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको भनाइ छ।
यस्तै तिब्बतसँग जोडिएको सीमा नाका खुलाउनका लागि गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमा पत्राचार भैसकेको उनले जानकारी दिए। गत साउन अन्तिम साता चुमनुब्री गाउँपालिका वडा नम्वर ६ को लोक्पामा पहिरो गएपछि छेकम्पार र चुम्चेतका करिब ७ सय बासिन्दा गाउँमै थुनिनुपरेको छ।
जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीसँगको भेटघाटका क्रममा मुख्यमन्त्री नेपालीले इमान्दारपूर्वक सेवा दिन निर्देशन दिएका छन्। अघिल्लो सरकारले ल्याएका बहुबर्षिय योजनालाई निरन्तरता दिएकाले वर्तमान सरकारले नयाँ योजना ल्याउन नसकेको उनले स्विकार गरे।