बागलुङ। चार महिनादेखि अवरुद्ध तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक खुलेका छन्। गत असारदेखि खोला र पहिरोका कारण अवरुद्ध भएका सडकहरु खुल्न थालेका हुन्।
वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए। पहिरोले क्षति पुर्याएका सडक वर्षा रोकिँदा बित्तिकै खुलाएर गाडी सञ्चालन गरे पनि खोलामा पानीको सतह नघट्दा खुङ्खानी, नर्जाखानी, तमान लाम्मेला लगायतका गाउँबाट पालिकाको केन्द्र बोङ्गादोभान आउन समस्या थियो । गाउँपालिकाले सोमबादेखि अवरुद्ध सबै सडक सञ्चालनका लागि मेसिन प्रयोग गरेको छ । खोलामा ढुङ्गा हालेर यातायातका साधान वारपार गर्न सक्ने बनाइएको छ ।
वडा नं २ को खोलेस्बाङबाहेक सबै वडामा पुग्न खोला पार गर्नुपर्ने हुँदा वर्षातका चार महिना सिधा यातायात हुन सकेको थिएन । करिब चार महिना सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानी तथा यात्रा गर्न निकै समस्या भोग्नुपरेको स्थानीय बताउँछन्।