बझाङ। बझाङ गएको भूकम्पका कारण जिल्लाका १२ हजार भन्दा बढी घर तथा भवनमा क्षति पुगेको तथ्यांक सार्वजनिक गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट प्राप्त विवरण सार्वजनिक गर्दै १२ हजार ३७६ वटा घर तथा भवनमा क्षति पुगेको जनाएको हो ।
विवरण अनुसार जिल्लामा दुई हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ । ६ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
जलविद्युत्, शौचालय, सामुदायिक भवनतर्फ ५० वटामा क्षति भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बझाङ पुगेर भूकम्पको क्षति तथा पुनर्निर्माण सम्बन्धमा अध्ययन गरेको थियो । बझाङमा भूकम्पको प्रभाव, क्षति र भावी रणनीतिका सम्बन्धमा शुक्रबार जिल्लाका सरोकारवालासँग आयोजित छलफलमा पुनर्निर्माणका लागि प्राधिकरणले आवश्यक तयारी थालेको जानकारी दिइएको छ ।