दार्चुला। ठाउँ ठाउँमा पहिरो खसेर असार महिनादेखि अवरुद्ध भएको दार्चुलाको खलङ्गा–दल्लेख–होपरीगाड सडक ६ महिना पछि सञ्चालनमा आएको छ। सडक अवरुद्धका कारण यातायात ठप्प भएको हुनाले नौगाडका बासीन्दाहरु १ दिन पुरै पैदल हिडेर खलङ्गा सदरमुकाम आवतजावत गर्नुपरेको थियो। खलङ्गा–दल्लेख सडकको महा काली नगरपालिका क्षेत्रमा सडक अवरुद्ध भएको थियो। सो सडकलाई मर्मत गरी सञ्चालनमा ल्याएपछि यातायातको साधनहरु प्नि सञ्चालनमा आएका छन्। जसले गर्दा कृषि उत्पादनका साधनहरु गाउँसम्म पुर्याउन र बजारबाट खाद्य र निर्माण सामाग्री ढुवानी गर्न सहज भएको नौगाडका स्थानीयबासीन्दाले जानकारी दिएका छन्।
दार्चुला सदरमुकाम खलङ्गादेखि नौगाड हुँदै गो कुवर जोड्ने उक्त सडक वर्षातको समयमा पटक–पटक अवरुद्ध हुँने गरेको छ। सो क्षेत्रको धेरैजसो ग्रामीण सडकहरु हिउँद याममा मात्र चल्ने गरेको छ। त्यसैगरी खलङ्गादेखि दुहुँ हुँदै व्यास गाउँपालिकाको केन्द्र सुनसेरा जोड्ने दार्चुला–तिङ्कार सडक पनि वर्षात्को समयमा वर्षेनी अवरुद्ध हुँदै आएको छ। ग्रामीण भेगका सडकहरु कच्ची भएका कारणले गर्दा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको चालकहरुको भनाइ रहेको छ। साथै सडक धुलो, हिलो र खाल्डाखुल्डी हुने भएको कारणले सडक दुर्घटना पनि बढ्दै गएको छ। दार्चुलाको सबैजसो ग्रामीण सडकहरु स्तरोन्नती गर्नुपर्ने आवश्यकता रहेको चालकहरुले जनाएका छन्।
जोखिमपुर्ण यात्रामा महँगो भाडा तिर्नुपर्ने साथै यात्रा गर्न लामो समयसम्म सवारी साधन कुर्नु पर्ने र गाडीमा ठाउँसम्म पनि नहुने स्थानीयको गुनासो रहेको छ। कोही सिकिस्त बिरामी पर्दा पनि भनेको समयमा सवारी साधन नपाउँदा समयमा नै उपचार नपाएर अकालमा नै ज्यान गुमाउनुपर्ने दर्दनाक अवस्था पनि रहेको छ। साथै बिरामीलाई अस्पताल पुर्याउन जिप कुर्नुपर्ने र जिपको भाडा धेरै महँगो भएको नौगाडका स्थानीयले बताएका छन्।