काठमाडौं। कर्णाली राजमार्गका विभिन्न स्थानमा जथाभावी निर्माण गरेका टहरा, घर, अव्यवस्थित रुपमा फालिएको गिट्टी, ढुङ्गा, बालुवा, सरीया लगाएतका सामाग्रीले सडक अतिक्रमणमा परेको छ। कर्णाली राजमार्ग कालोपत्रे भएसँगै सडक अतिक्रमण पनि बढेको छ।
सडक डिभिजन जुम्लाले पटकपटक सार्वजनिक सम्पत्ति तथा सडक अतिक्रमण नगर्न अनुरोध गरिएको भएता पनि स्थानीयको मनपरी रोकिएको छैन्। सडक अतिक्रमणले सडक साँघुरिदै जानुका साथै दुर्घटनाको जोखिम पनि बढाएको छ। स्थानीयले मनपरी तरिकाले सडक छेउमा घर र टहरा निर्माण तथा जथाभावी निर्माण सामाग्री फाल्ने गरेका कारणले गर्दा सडकको नाली तथा सडक डिभिजनले लगाएको नाली नै नदेखिने भएको छ।
जुम्लाको बसपार्क क्षेत्र र तातोपानी पर्यटन क्षेत्रमा सडक अतिक्रमण अत्यधिक मात्रामा रहेको छ। हाल सडक डिभिजन जुम्लाले सडक सुरक्षा अभियान थालेको छ। कर्णाली राजमार्गको विभिन्न खण्डमा सडक अतिक्रमण बढ्न थालेपछि ‘सडक सबैको साझा सम्पत्ति हो, यसको संरक्षणमा सबै एकजुट भै लागौं’ भन्ने नाराको सडक सुरक्षा अभियान थालिएको हो। सडक संरचनाभित्र स्थानीयले मन परीनिर्माण समाग्री फाल्नुका साथै घर टहरा निर्माण गरेको कारण खालि गर्न पहिलो चरणमा सुचना टाँस गरिएको साथै सवारी साधन आवतजावतमा बाधा पुग्ने सार्वजनिक हितविपरीत राखिएको निर्माण सामाग्री हटाउन अनुरोध गरेको सडक डिभिजन जुम्लाका प्रमुखले जानकारी दिएका छन्।
सात दिनभित्र सडक खालि गर्न अनुरोध गरिएको र सात दिनभित्रमा सडक सीमा खालि नभएमा कार्यलयले आफ्नै तरिकाले हटाउने र त्यसबाट हुने क्षतिप्रति कार्यलय जवाफदेही नहुने पनि चेतावनी दिइएको छ।