पर्सा। वीरगन्ज महानगरपालिकाले आफ्नै जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ। नगरवासीलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले वीरगन्ज महानगरपालिकाले आइतबारदेखि आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको हो।
महानगरको वडा नम्बर ३ स्थित मालपोत चोकमा सञ्चालन गरिएको प्रयोगशालामा निजीभन्दा निकै सस्तो मूल्यमा स्वास्थ्य परीक्षण गर्ने महानगरले जनाएको छ। प्रयोगशालामा उच्चस्तरीय प्रविधियुक्त मेसिन राखिएको छ।
स्वास्थ्य परीक्षणमा नगरवासीले बजारमूल्यभन्दा ७५ प्रतिशत सस्तोमा सेवा प्रदान गरिने महानगरले जनाएको छ। प्रयोगशालामा सीबीसी १ सय ७५, लिभर फङ्सन टेस्ट २ सय, लिपिड प्रोफाइल टेस्ट ३ सय रुपैयाँ गरिने बताइएको छ।
यसैगरि प्रयोगशालामा जेष्ठ नागरिक, मृगौलापीडित, क्यान्सरपीडित, एचआइभी संक्रमित, सहिद परिवार र मधेश आन्दोलनका घाइते तथा विपिन्न परिवारलाई सबैखाले परीक्षणमा ९० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ। अपांगता भएका व्यक्तिलाई परीक्षणमा ५० प्रतिशत छुट दिइने महानगरले जनाएको छ ।
महानगरले ३३ लाखको लागतमा हल, शौचालयसहित ४ कोठे भवन निर्माण गरि प्रयोगशाला सञ्चालनमा ल्याएको हो।