काठमाडौं। झापाको गौरादहमा मङ्गलवार अपराह्न कृषि क्याम्पस भवनको उद्घाटन गरिएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको उद्घाटन गरेका हुन्।
गौरा दहमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा गौरा दह कृषि क्याम्पस रहेको छ । क्याम्पस भवन सहित पुस्तकालय र प्रयोगशाला विश्वविद्यालय अनुदान आयोगको ६ करोड ४४ लाख चार हजार सहयोगमा निर्माण भएको हो।
उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले कृषिमा आत्मनिर्भरता कम गर्नका लागि खेती किसानी मैत्री शिक्षा आवश्यक भएको बताए। कृषि प्राविधिकहरूमा सैद्धान्तिक ज्ञान भए पनि व्यवहारिक ज्ञानको कमीका कारण अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको उनको भनाइ छ।
उनले विद्यार्थीहरूलाई व्यवहारिक र किसानलाई प्राविधिक ज्ञान दिएमा मात्र परिणाम निस्कने बताए। ओलीले बिद्यार्थीहरुले सिकेका कुरा आफ्ना घर आँगनमा पुगेर किसानलाई सिकाउन आग्रह समेत गरे । सैद्धान्तिक ज्ञान लिएका विद्यार्थी र व्यवहारिक ज्ञानले पोख्त किसान मिल्यो भने यसले परिणाम राम्रो ल्याउने उनको भनाइ छ।