धनकुटा। चौबिसे गाउँपालिकाले चालु आर्थिक वर्षमा ६९ जनालाई रोजगारी दिने भएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत बेरोजगारीमा सूचीकृत भएका व्यक्तिलाई १०० दिने रोजगारी दिन लागेको हो ।
गाउँपालिका पहाडी भुगोलमा रहेकोले बाटो हिलो हुने हुँदा बाटो सोलिङको लागि उक्त रोजगारी प्रदान गर्ने पालिकाले जनाएको छ। दशैँतिहारपछि बजेट निकासा सुरु हुनासाथ पालिकाका ८ वटै वडामा बाटो सोलिङको काम सुरु गरिने बताइएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी पाउने व्यक्तिको ज्याला समेत थप गरिएको बताइएको छ। ५७७ रुपैयाँका दरले दिने गरिएकोमा यस आर्थिक वषदेखि ६६८ रुपैयाँका दरले ज्याला दिन लागिएको छ।
यस्तै गाउँपालिकामा बेरोजगारमा सूचीकृत भएका व्यक्तिहरुलाई सीपमुलक तालिमसमेत प्रदान गरिएको छ । नेपाल सरकारअन्तर्गत रहेको राष्ट्रिय सीप व्यवसाय प्रतिष्ठान इटहरीको आर्थिक सहयोगमा इलेक्ट्रिसियन, व्युटिपार्लर र होमस्टे सञ्चालनसम्बन्धी तालिम प्रदान गरिने छ।