काठमाडौं। मनाङमा बजेट विनियोजन गरेको दुई साता नबित्दै एउटा योजना सम्पन्न भएको छ। मनाङ प्रदेश सभा तर्फको स्थानीय पूर्वाधार विकास बजेट विनियोजन भएको दुई साता नबित्दै नासोङमा अस्थायी पुल निर्माण सम्पन्न भएको हो।
मनाङ ‘ख’ बाट निर्वाचित सांसद चिन्ताबहादुर घलेले प्रदेश सभाका लागि नासोङ गाउँपालिका–१, अन्तर्गत सिरानतालमा काठेपुल निर्माणका लागि दुई लाख विनियोजन गरेका थिए। सांसदले बजेट विनियोजन गरेलगत्तै स्थानीयले उपभोक्ता समिति गठन गरी दुई साताभित्र योजना सम्पन्न गरेका हुन्।
मस्र्याङ्दी नदिमा मानिस आवतजावत गर्नका लगि स्थानीयले काठको पुल निर्माण सम्पन्न गरेका हुन्। हाल पुल निर्माणको काम सम्पन्न भए पनि बजेट फस्र्योटको प्रक्रिया भने बाँकी नै रहेको स्थानीयले जानकारी दिए।
स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रदेश सभा सांसद घलेले आर्थिक वर्ष २०७८।०७९ को योजना छनोटसहित बजेट विनियोजन गरेको गरेका थिए। प्रदेश सभाअन्तर्गतका दुई स्थानीय तहमध्ये सांसद घले संयोजकत्वको समितिले २५ वटा योजना छनोट गरेको थियो। समितिले नासोङ गाउँपालिकाअन्तर्गत १८ योजनाका लागि एक करोड २९ लाख रुपैयाँ विनियोजन गरेको थियो।