काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कोइलाको भाउ कहिले घट्ने कहिले बढ्ने हुन थालेपछि नेपाली उद्योगीहरुले भारतबाट कोइला किन्न सुरु गरेका छन्। मूल्य घटबढको जोखिम मोल्नको विकल्प भारतबाट कोइला किन्न सुरु गरेका हुन्।
केही समययता नेपालका उद्योगहरू भारतीय कोइलामा आकर्षित हुन थालेको अर्घाखाँची सिमेन्टका संचालक एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले स्वीकार गरे। उनका अनुसार जहाँ कारोबार गर्न सहज र सहुलियत हुने गर्दछ, व्यवसायी त्यहीँ जान्छन्। अहिले हामीलाई भारत सहज भइरहेको छ। जसले गर्दा उधोगीहरुले भारतबाट कोइला खरिद गर्न थालेको जानकारी दिए।
कोलकातास्थित कोइलाका एजेन्ट राघव चक्रवर्तीका अनुसार एक महिनायता नेपालका उद्योगीहरू भारतीय कोइला किनिरहेका छन्। समुद्रपारको कोइलाको मूल्यमा भइरहेको तीव्र उतारचढावले नेपालका उद्योगीहरू त्यहाँ कारोबार गर्न डराएर भारतबाट कोइला किन्न बाँध्य भएका हुन्।
अर्डर गरेको कम्तीमा ४ महिनामा मात्र समुद्रपारबाट कोइला आइपुग्छ। तर भारतीय कोइला अर्डर गरेको १० दिनभित्र नेपालका उद्योगमा आइपुग्छ। डेढ हप्ताभित्रै नेपाल आइपुग्ने भएकाले मूल्यमा पनि सहज हुने भएकाले उधोगीहरु भारतबाटनै कोइला ल्याउने गर्दछन्।
भारतको कोइला नेपालका सिमेन्ट र इँटा दुबै खाले उद्योगले प्रयोग गर्छन्। चक्रवर्तीका अनुसार भारतीय कोइलाको रक्सौल सिआइएफको अहिलेको मूल्य भारु १२ हजार ५ सयदेखि १४ हजारसम्म रहेको छ।
चीनले इन्डोनेसिया आपूर्तिकर्तासँग खरिद गर्न लागेको कोइलाको ठूलो परिमाणको खरीद सम्झौता रद्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य ओरालो लागेर कोइलाको भाउ टनमा सय डलर घटेको हो।