काठमाडौं। खोटाङको केपिलाषगढी गाउँपालिका कार्यलयको नवनिर्मित मुख्य प्रशासकीय भवनको उद्धघाटन गरिएको छ। १ करोड ८० लाख लागतमा निर्माण गरिएको उक्त भवनको सोमबार एक कार्यक्रममा उद्धघाटन गरिएको हो। यसैगरी स्थानीय उपभोक्ताले २ वर्ष लगाएर निर्माण गरिएको सो भवनको कार्यलय व्यवस्थापन गर्नको लागि मात्र १ वर्ष लागेको गाउँपालिकाको उपाध्यक्ष हिरा कुमारी वन गिरीले जानकारी दिएकी छिन्।
सो गाउँपालिकाले भवन निर्माण हुनु पुर्व बाक्सिला गा.वि.स र पृथ्वी मा.वि.को जीर्ण भवनलाई मर्मत गरी सेवा दिदै आएको थियो। गाउँपालिकाको आफ्नै भवन निर्माण भएपश्चात नवनिर्मित भवनमा सरेको छ। नयाँ भवनमा सरेपछि दैनिक रुपमा गर्नुपर्ने काममा सहजता भएको प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिएका छन्।
दुई नगरपालिका र दश स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका,बराहपोखरी गाउँपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले यो भन्दा अगाडी नै प्रशासनीक भवन निर्माण गरी सञ्चालनमा ल्याएका छन् भने जन्तेढुङ्गा, साकेला र ऐंसेलुखर्क गाउँपालिकामा प्रशासनिक भवन निर्माणको काम धमाधम भइरहेको छ। यी गाउँपालिकाले पनि अब छिट्टै भवन निर्माणको काम सकेर आफ्नै भवनबाट सेवा प्रदान गर्ने जनाइएको छ।