पर्सा। सिर्सिया नदी प्रदुषण गर्ने एक उद्योगलाई वीरगञ्ज महानगरपालिकाले ३० हजार रुपैयाँ जरिवाना तिराएको छ । परवानीपुरस्थित सिद्धि टेक्साइल प्रालिले उद्योगको प्रदुषित पानी सिर्सिया नदीमा फालेर फोहाेर समेत गरेको भन्दै महानगरले जरिवाना तिराएको हो।
यसअघि पनि सिर्सिया नदी प्रदुषण गर्ने पाँच उद्योगलाई पटक/पटक चेतावनी दिँदा समेत प्रदुषण गर्न नछाडेपछि महानगरपालिकाले ३/३ लाख रूपैयाँका दरले जरिवाना तिराएकाे थियाे । उद्योगबाट निस्कने रसायनसहितकाे लेदाे तथा फाेहाेर पानी साेझै नदीमा मिसाउँदा नदी दुर्गन्धित र प्रदुषित हुने गरेकाे छ।
महानगरकाे निरन्तर अनुगमनपछि ग्लाेबल लेदर, मारूती पल्स एण्ड पेपर, दुर्गा पल्स एण्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेकाे भेटिएकाे महानगरद्वारा गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले जनाएकाे छ।
महानगरपालिकाले निरन्तर अनुगमन र कारबाही गर्न थालेपछि प्रदुषण नियन्त्रणका लागि निस्कने रसायनयुक्त लेदाे तथा फाेहाेर व्यवस्थापन गर्न दुई उद्योगीहरुले भने ट्रिटमेन्ट प्लान्ट बनाउन सुरू गरेका छन्।
सिर्सिया नदी प्रदुषणमुक्त बनाउन नदीको आसपासका उद्योगहरु नै मुख्य जिम्मेवार देखिएकाले तत्काल फोहोर पानी सोझै नदीमा मिसाउन बन्द नगरे कारबाहीसँगै उद्योगमा शीलबन्दी गरिने महानगरप्रमुख राजेशमान सिंहले चेतावनी समेत दिएका छन्।