म्याग्दी। राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण गरिएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण गरिएको हो।
४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिको राहुघाट नदीमा बनेको पुलमा सवारीसाधन सञ्चालन गरिएको आयोजना प्रमुखले जानकारी दिएका छन्। रङगरोगन, पहुँचमार्गलाई अन्तिम रुप दिन र संरक्षणको केही बाँकी काम रहेको भएपनि पुल सञ्चालन योग्य भएपछि सवारीसाधन आवतजावतका लागि खुला गरेका र अब केही दिनमा ठेकेदारले बाँकी काम सकेर हस्तान्तरण गर्ने तयारी रहेको उनले जानकारी दिएका छन्।
गलेश्वरको पुल निर्माण गर्न कालिका–गजुरमुखी जेभीले विसं २०७४ असारमा रु ६ करोड २४ लाख ३ हजार ८२५ मा ठेक्का सम्झौता गरेको थियो। तर सम्झौताको म्याद विसं २०७६ चैत २६ गते सकिए पछि ठेकेदार सम्पर्कविहिन भएपछि विसं २०७७ मङ्सिरदेखि जिम्मा लिएका मूल ठेकेदारले पुल निर्माणलाई पूर्णता दिएका हुन्। सहायक ठेकेदारले अधकल्चो बनाएको पुल निर्माणमा कोरोना भाइरसको महामारी, बन्दाबन्दी, निषेधाज्ञा र बाढीपहिराका कारण ढिलाइ भएको गजुरमुखी निर्माण कम्पनीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले जानकारी दिएका छन्।
यसैगरी ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकअन्तर्गत रघुगङ्गा–१ र अन्नपूर्ण–७ को सिमानामा पर्ने महभिर, अन्नपूर्ण–६ र २ को सिमाना पोखरे बगरस्थित कालीगण्डकी नदीमा पनि दुई वटा मोटरेबल पुल निर्माण सकिएको छ। महभिरमा ८० मिटर र पोखरेबगरमा ७० मिटर लामो पुल ११/११ मिटर फराकिला रहेका छन्। महभिरको पुल सञ्चालनमा आइसकेको र पोखरेबगरको पुल जोड्ने पहुँचमार्गको जग्गा विवाद समाधान गरेर सञ्चालनको तयारी गरिएको आयोजना प्रमुखले जनाएका छन्।