हुम्ला। सिमकोट विमानस्थल यसै आर्थिक वर्षमा विस्तार गरिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमकोट विमानस्थलको लम्बाइ बढाउने भएको हो।
नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले यस वर्ष विमानस्थलको लम्बाइ १५० मिटर अगाडि विस्तार गरिने बताए। विमानस्थलको पश्चिमतर्फको रानीवन क्षेत्रमा विमानस्थल विस्तार गर्न लागिएको हो। उनले यसका लागि जग्गाको नापजाँच गर्ने कार्य पूरा भइसकेको र अब मुआब्जा वितरण कार्य अगाडि बढाइने बताए ।
जग्गा विस्तार गर्न लागिएको स्थानमा रहेका १० वटा घरसमेत विमानस्थल विस्तारका क्रममा जाने छन् । जग्गा अधिग्रहणका लागि प्राधिकरणले करिब छ करोड रुपियाँ बजेटसमेत व्यवस्था गरेको छ । हाल ५० मिटर विमानस्थल क्षेत्रभित्रको जग्गा बाँकी रहेको र त्योसहित अब विमानस्थलको लम्बाइ दुई सय मिटर बढ्ने छ । हालको विमानस्थलको रनवे साढे छ सय मिटर लम्बाइ रहेको छ । त्यसपछि भने सिमकोट विमानस्थल साढे आठ सय मिटर लामो हुने छ । विमानस्थलको दुरी छोटो भएका कारण तारा, सीता, समिट र नेपाल एयरलाइन्सका साना जहाज मात्र सञ्चालनमा रहेका छन् । गोरखापत्रबाट