काठमाडौं। पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएका नेपाली जहाजले युरोपको आकाश पाउने कि नपाउने भन्ने निर्णय चाँडै हुने भएको छ । यसै महिनाको अन्त्य (डिसेम्बर पहिलो साता) सम्ममा टुङ्गो लाग्ने भएको हो ।
सन् २०१३ देखि युरोपेली सङ्घ (इयु) को कालो सूचीमा रहेको नेपालबारे स्थलगत अध्ययन तथा अनुगमन गरेर भदौ अन्तिम साता फर्किएको इयुको प्राविधिक सहयोग टोलीले डिसेम्बर अन्तिमसम्ममा प्रतिवेदन दिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नोभेम्बर अन्त्यमा बस्ने ‘युरोपियन युनियन अफ एभिएसन सेफ्टी एजेन्सी (आएसा)’ को समीक्षा परिषद्को बैठकले नेपालबारे पुनर्विचार गर्ने छ । नोभेम्बर १५ मा नेपालबाट आएसाको बैठकमा सहभागी टोलीले नेपालले हवाई सुरक्षामा हासिल गरेको उपलब्धि, हवाई पूर्वाधार, उड्डयन सुरक्षालगायतको अवस्थाबारे जानकारी गराएको छ । गत आइतबार नेपाल आइपुगेको चार सदस्यीय इयुको प्राविधिक टोली नागरिक उड्डयन प्राधिकरणसँगै वायुसेवा कम्पनीको अडिटको काम गरेर शुक्रबार फर्किसकेको छ ।
भुलले भने, “नेपालले हवाई सुरक्षामा गरेको प्रगतिबारे पुनः अध्ययन गर्न नेपाल आएको उक्त टोली स्थलगत अध्ययनको काम सकेर फर्केको छ । नेपालले हवाई दुर्घटना न्यूनीकरणसम्बन्धी नियमावलीको मस्यौदा र हवाई सुरक्षासँग जोडिएका नियमसमेत संशोधन गरिसकेकाले यस पटक प्रतिबन्धबारेको निर्णयमा पुनर्विचार हुने अपेक्षा छ ।” गोरखापत्रबाट