कपिलवस्तु। कपिलवस्तुका सीमा स्तम्भको मर्मत सम्भार सुरु गरिएको छ । कृष्णनगर नगरपालिका–२ लिंक गेट नजिकै रहेको ५ सय ६७ (१) नम्बरको सहायक सीमा स्तम्भको मर्मत गरी शनिबारबाट मर्मत कार्यको सुरुवात गरिएको हो।
सशस्त्र प्रहरी बल बिन्ध्याबासिनी बाहिनी मुख्यालय डीआईजी अभिकुमार खत्री र भारतको बलरामपुर जिल्लाको ५० औं बटालियनका कमान्डेन्टेन्ट विकास राय सिंहले संयुक्त रुपमा मर्मत सम्भारको काम थालनी गरेका हुन् ।
जिल्लामा रहेका ठूला, सहायक र साना गरी २ सय ७७ वटा सीमा स्तम्भको मर्मत गरिने सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीले बताए । बिजोर नम्बरको नेपाल र जोर नम्बरको भारतले मर्मत सम्भारको जिम्मा लिएका छन् ।
सीमा स्तम्भको रंगरोगन, २५ प्रतिशत क्षति भएको आंशिक, २५ देखि ५० प्रतिशत क्षति भएको मध्य र ५० प्रतिशतसम्म क्षति भएका सीमा स्तम्भको पूर्ण मर्मत गरिने छ ।