काठमाडौं। चोभार सुक्खा बन्दरगाहको संचालन आगामी मंसिर २९ गतेदेखि हुने भएको छ। बन्दरगाह सञ्चालनका लागि प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता सम्पन्न गरेको हो।
जेभीले ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालि दर्ता गरि विकास समितिसँग सहमतिपत्रमा हस्ताक्षर गरेको छ। सम्झौता अनुसार २०८० मंसिर २९ देखि चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन उक्त कम्पनीले गर्नेछ। समितिका कार्यकारी निर्देशक आशिष गजुरेलको उपस्थितिमा निर्देशक युवक डंगोल तथा सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ बमोजिम समिति एक नियामक निकायको रुपमा रहेको छ। जसअन्तर्गत रहेका टर्मिनल (सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी र कन्टेनर फ्रेट स्टेसन) हरुको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले पाएको थियो।
एकद्वार प्रणालीबाट आयात र निर्यातकर्ताहरुलाई सेवा प्रदान गर्ने तथा काठमाडौं प्रवेश गर्ने ढुवानी साधनहरुलाई व्यवस्थित गर्ने उद्देश्यले चोभार सुक्खा बन्दरगाह निर्माण भएको हो।