हुम्ला। कर्णाली करिडोरको सिमकोट–खार्पु सडक निर्माण कार्य अघि बढाउन स्थानीय सहमत भएका छन्।
स्थानीय प्रशासन, हिल्सा सिमकोट सडक आयोजनासँगको छलफलमा स्थानीय जग्गाधनीले सडक निर्माण कार्य अघि बढाउन सहमति जनाएका हुन्।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सडक निर्माणमा पर्ने जग्गाको क्षतिपूर्ति उपलब्ध गराउने र सदरमुकाम सिमकोट जोड्ने सडक निर्माणका लागि पहल गर्ने हिल्सा सिमकोट सडक आयोजनाले प्रतिबद्धता जनाएको जानकारी दिए। सोही प्रतिबद्धतापछि स्थानीय वासिन्दा सडक निर्माण गर्न दिन सहमत भएका हुन्।
सहमतिअनुसार सडक निर्माणका जग्गा क्षेत्रमा पर्ने बोटविरुवा र बालीनालीको क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र संघीय सरकारसँग माग गर्ने निर्णय भएको छ। नयाँ सहमतिअनुसार सिमकोट खार्पुखण्डको डीपीआरअनुसारको स्याम्ने कालाढुङ्गा पिप्लेडी हुँदै मानसरोवर माध्यमिक विद्यालय क्षेत्रको सडकको निर्माण कार्य अगाडि बढ्ने बाटो खुलेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।
स्थानीय जग्गाधनी सहमत नहुँदा उक्त सडक निर्माण कार्य डेढ वर्षदेखि रोकिएको थियो।