काठमाडौं। जुम्लाको विकट बस्तीमा सडक खनिएका छन्। दुर्गम र विकट रुपमा रहेका तिला गाउँपालिका वडा नम्बर ७, ८ र ९ नम्बर वडामा पर्ने जुम्लाकोट, मालापानी, राँसा, खोप्री, सुडी, घोडेमहादेवमा सडक खनिएको हो। यस्ता दुर्गम क्षेत्रमा सडक खनिएको भएता पनि हालसम्म राष्ट्रिय सडक सञ्जालमा भने जोडिएका छैन।
तिला गाउँपालिका वडा नम्बर १ रारालिहिस्थित तिला नदीमाथि गाडी गुड्ने पक्की पुल निर्माण नभएका कारणले गर्दा सो बस्ती राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेका हुन्। ग्रामीण भेगको दुर्गम बस्तीको रुपमा रहेको सो बस्तीमा संघ, प्रदेश र स्थानीय सरकारको पहलमा सडकको पहुँच पुगेको छ। अब छिट्टैगाडी गुड्ने पर्खाइमा आफुहरु रहेको वडा नम्बर ९ मालापानी गाउँका स्थानीयले बताएका छन्। हाल सो क्षेत्रमा मालवाहक गाडीको रुपमा खच्चर र मानिसको पिठ्युँ रहेको छ। दैनिक रुपमा उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चर र पिठ्युँमै ओसारपसार गर्ने गरिएको छ। हाल गाउँघरमा सडकको पहुँच पुगेपछि स्थानीय खुसी छन्। सडक पुगेपछि गाडी पनि छिट्टै पुग्ने आशामा त्यहाँका स्थानीय रहेका छन्।
उक्त क्षेत्रमा सडक निर्माण गर्ने प्रयास संघीय सरकार आउनु अगाबै भएको भएता पनि स्थानीय सरकारले ४ वर्षको अवधिमा सडकको पहुँच पुर्याएको हो। सो क्षेत्रको सडक निर्माणको लागि लगभग ५ करोड रुपैयाँ बजेट खर्च भएको छ। त्यसैले गदौ सो सडक निर्माणले दैनिकी सहज बनाउने स्थानीयको अपेक्षा रहेको छ। हाल सो क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सडक डिभिजन कार्यालय जुम्लाको १३ करोड रुपैयाँ लागतमा तिला नदीमाथि पक्की मोटरेबल पुल निर्माण गर्ने तयारी गरिएको छ।
यसैगरी २ वर्षमा पक्की पुल निर्माण गर्ने सम्झौतामा उल्लेख गरिएको तिला गाउँपालिकाले जानकारी गराएको छ। सो गाउँपालिकामा स्थानीय सरकारको पहलमा सडकको पहुँच पुग्नु पालिकाकै ठुलो उपलब्धि भएको गाउँपालिकाको उपाध्यक्षको भनाइ रहेको छ। गाउँमा सडक पुगिसकेकाले केही समयपछि तिला नदीमा पुल निर्माण हुने जनाइएको छ। सो नदीमा पुल निर्माण भएपश्चात सो क्षेत्रमा उत्पादन भएका उत्पादित बस्तु बजारसम्म पुर्याउन साथै दैनिक उपभोग्य सामाग्री खरिद गर्न पनि सहज हुने बताइएको छ।