बेदकोट। कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटकका रोजाइमा परेको छ । पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।
पक्की पुलमा फोटो तथा भिडिओ कैद गर्नेको पछिल्लो समय भीडभाड लाग्ने गरेको दोधारा चाँदनी नगरपालिको जनाएको छ। पछिल्लो समय पुल अवलोकनका साथै तस्वीर र भिडिओ खिच्नेको भीडभाड लाग्ने गरेको बताइएको छ।
पक्की पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ । कैलाली, कञ्चनपुरका साथै सीमावर्ती भारतीय सहरका बासिन्दा पुल अवलोकनका लागि पुग्ने गरेका छन्। पक्की पुल अवलोकनका लागि पुग्ने पर्यटकको रोजाइमा दोधारा चाँदनी झोलुङ्गे पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत पनि पर्ने गरेका छन् । पक्की पुल निर्माणले दोधारा चाँदनी क्षेत्रमा आवातजावत बढेसँगै यहाँको व्यापार–व्यवसाय पनि फस्टाउँदै गएको छ ।