काठमाडौं। बाजुराको कोल्टी विमानस्थलमा अवतरणको क्रममा जहाजको टायर पन्चर भएपछि यात्रुले जहाजलाई आफैं धकेलेर रनवे खाली गराएका छन्। हुम्लाबाट बुधबार दिउँसो १ बजे नेपालगञ्जका लागि उडेको यती एयरको जहाज बाजुरामा रहेका यात्रु लिन कोल्टी विमानस्थल अवतरण गर्ने क्रममा जहाजको टायर पन्चर भएको हो।
अरू जहाज अवतरण गराउनुपर्ने र त्यसका लागि रेनवेबाट जहाज हटाउन उपकरण नभएका कारण यात्रुले जहाज धकेल्नुपरेको यती एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
उक्त विमानस्थलमा जहाजको टायर फ्लाट भएपछि अरू जहाज अवतरण गराउन रनवे खाली गराउनलाई जहाज तान्ने उपकरण नभएको कारण यात्रुको सहायताले जहाजलाई धकेलेर साइड लगाइएको हो। पन्चर भएको जहाजको आजै टायर फेरिसकिएको र जहाज यात्रु लिएर दिउँसै नेपालगञ्ज फर्किसकेको जानकारी दिए।