मोरङ। विराटनगरको रोडशेष चोकमा रहेको होटल बिगले सुविधा विस्तार गर्ने भएको छ। होटलले क्यासिनो, इनडोर स्वीमिङ पुल, जिम क्लब, स्पा, सोना र स्टिम बाथ, हेल्थ क्लब लगायतका सेग्मेन्टको निर्माणका लागि लगानी विस्तार गर्ने भएको हो।
यसअघि ५० करोडको लगानीमा सञ्चालनमा ल्याइएको होटलले थप २५ करोडको सुविधा विस्तार गर्न लागेको हो।
विस्तारसहितको होटल बिग छिटोमा आगामी फागुनको पहिलो सातादेखि पूर्ण सञ्चालनमा आउने होटल व्यवस्थापनले जनाएको छ।
यो होटलमा औद्योगिक–व्यापारिक घरानाका पाहुना, गैर सरकारी र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका अधिकारीहरू, स्थानीय प्रदेश र सङ्घीय सरकारका निकाय र ती सरकारका पाहुना, पूर्व आउने कूटनीतिक नियोगका अधिकारी, मेडिकल कलेज र फर्मास्युटिकल्स र भारतीय पाहुना विशेष ग्राहक हुने गरेको होटल व्यवस्थापकले जनाएको छ। सुविधा थप गरी होटल विस्तार गरेपछि यसका ग्राहक अझ बढ्ने आशा गरिएको छ।
यो होटल करिब साढे तीन वर्ष पहिले काठमाडौंका ऊर्जा व्यवसायी भरतबहादुर खत्रीले सञ्चालनमा ल्याएका हुन्।