काठमाडौं। बुटवल–नारायणगढ सडकखण्डको निर्माण कार्य तोकिएको समयमै नसकिने निश्चित भएको छ। निर्माणको क्रममा विभिन्न अवरोध आएको कारण समयमा नै काम नसकिएकाले गर्दा निर्माण कम्पनीले म्याद थप गर्न माग गरेको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर म्याद थपका लागि निवेदन दिएको जनाएको छ। कोरोना कहर तथा लकडाउन, लगातारको वर्षातसँगै साइट क्लिरियरमा ढिलाई हुँदा निर्माण कार्य प्रभावित भएको र कामको लोड पनि थपिएको भन्दै निर्माण कम्पनीले दुई वर्ष म्याद थप्न माग गरेको हो।

उक्त सडक खण्डमा हालसम्म करिब ११ प्रतिशत मात्रै काम भएको र पछिल्ला केही दिनदेखि नियमित विस्तारको काम चलिरहेको जनाइएको छ। उक्त क्षेत्रमा हाल दैनिक पाँच सय जना कामदारले काम गरिरहेका छन् भने साइट क्लियर गर्ने काम भइरहेको छ। तोकिएको समयमा निर्माण कार्य पूरा हुने अवस्था नरहेको आयोजनाको इन्जिनियरले जानकारी दिएका छन्। सो आयोजना निर्माणको लागि म्याद कति थप्ने, कसरी थप्ने भन्ने विषयमा भने अवस्थाको अध्ययन भइरहेको उनको भनाइ छ। निर्माण कम्पनीसँग २०२२ अगस्टसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो। तर हाल दुई वर्ष थप गरेर आगामी २०२४ अगस्ट २४ तारिखसम्मको म्याद थप गर्न माग गर्दै निवेदन आएको आयोजनाले जानकारी दिएको छ।
लकडाउनका कारणले काम प्रभावित भएको र त्यसअघि रुख कटानको स्वीकृती र विद्युतका पोल सार्ने काम नभएकाले काम प्रभावित भएको थियो। यी सबै काम अहिले सुस्त गतिमा चलिरहेका छन्। यसैगरी विद्युत प्राधिकरणले सडक निर्माण क्षेत्रमा पर्ने पोल नसारिदिएपछि हाल निर्माण व्यवसायी आफैले पोल सारिरहेको छन भने दाउन्नेलगायतका केही ठाउँमा रुख कटानको काम पनि चलिरहेको छ।निर्माण कम्पनीले ठाउँ–ठाउँमा सडक भासिएको, घोडाहा र तुरिया खोलाको पुल भाँचिएका कारणले पनि सडक निर्माणमा ढिलाई भएको बताएको छ। सम्झौता भएको भन्दा अतिरिक्त भार परेको भन्दै म्याद थपको माग गरेको निर्माण कम्पनीले जानकारी दिएको छ।
नारायणगढ–बुटवल सडक आयोजना अन्तर्गत खण्ड ‘क’का योजना प्रमुखले निर्माण कार्य जारी नै रहेपनि सन्तोषजनक प्रगति भने नदेखिएको जानकारी दिएका छन्। यसैगरी नवलपुर खण्डमा करिब तीन प्रतिशत मात्रै भौतिक प्रगति भएको उनले जनाएका छन्। सो खण्डमा पनि रूख कटानमा स्वीकृति नपाउँदा र विद्युत पोल सार्न ढिलाई भएका कारणले सडक विस्तारको काम प्रभावित भएको हो। उत्तरतर्फको रूख कटानमा अनुमति पाएर धेरै रूख काटिएको भएपनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रूख कटानमा समस्या आएको थियो। मन्त्रिपरिषद्ले रूख कटानको स्वीकृति दिएसँगै दक्षिणतर्फको रूख पनि काटान भएको छ।
कुल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ गरी सो आयोजनालाई दुई खण्डमा विभाजन गरेर दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दिएको छ। सो सडक चार लेनमा विस्तार हुनेछ भने शहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने बताइएको छ। यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको थियो।