चितवन। भरतपुर महानगरपालिकाको भरतपुर भ्रमण वर्ष–२०२४ तत्कालका लागि रोकिएको छ। शुक्रबार बिहान बसेको महानगरपालिकाको ८९ औं कार्यपालिका बैठकले भ्रमण वर्षको कार्यक्रमलाई तत्कालका लागि स्थगन गरेको हो।
भरतपुरको मुख्य सहरी क्षेत्र चौबिसकोठी–पुलचोक सडक खण्डको निर्माण कार्य नसकिएको, नारायणगढ–बुटवल सडक खण्ड, मुग्लिन–पोखरा सडक निर्माणाधीन रहेको, मुग्लिन–नारायणगढ सडक दैनिक केही घण्टा बन्द गरेर पुल निर्माणको काम गर्न लागिएकाले भ्रमण वर्षलाई असर परेको पालिकाले जनाएको छ।
सडक संरचनाहरू निर्माणाधीन रहेको र केही पर्यटकीय पूर्वाधारहरू समेत निर्माणको क्रममा रहेकाले भ्रमण वर्ष केही पर सार्नु उचित देखेको मेयर रेनु दाहालले बताइन्। उनले जनसमुदाय, बुद्धिजीवी, निजी क्षेत्र समेतको रायको आधारमा कार्यपालिकाको बैठकले भ्रमण वर्षको कार्यक्रम सार्ने निर्णय गरेको जानकारी दिएकी छन्।
उनले सन् २०२४ भित्रैमा भ्रमण वर्षको उद्घाटन हुने समेत बताइन्।
यस अघि आगामी पुस १६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रमण वर्षको सुरू भएको घोषणा गर्ने कार्यक्रम तय भइसकेको थियो।