काठमाडौं। पोखरामा निर्मित केबलकारको परीक्षण सफल भएको छ। फेवाताल किनार सेदीबगरदेखि सराङकोट जाने केबलकारको दुई घण्टा गरिएको परीक्षण सफल भएको हो।
अन्नपूर्ण केवलकार कम्पनीले निर्माण गरेको केवलकार आगामी जनवरी १ देखि व्यावसायिक रुपमा सञ्चालनको तयारीमा रहेको कम्पनीले जनाएको छ । केबलकारमा जडित डिब्बा र टावरको जडान परीक्षण गर्न जापानबाट ७ प्राविधिकको टोली आएको थियो । जापानी निपुन केवलबाट ओचीआई नेतृत्वको टोली एक साताअघि आएर अन्तिम चराणको काम गरिरहेको उनले बताए ।
कोरोना महामारी र निर्माण कम्पनीले पटकपटक म्याद थप्दा आयोजना निर्माणमा तोकिएभन्दा ४ वर्ष ढिलो भएको कम्पनीले जनाएको छ । केबलकार सञ्चालनमा आएपछि सेदीबगरबाट ७ मिनेटमै सराङकोट पुग्न सकिन्छ ।
आयोजनाको लागत करिब २ अर्ब पुगेको बताइएको छ । २.४ किलोमिटर दूरीमा १८ टावर र १८ वटा डिब्बा रहनेछन् । कम्पनीले हाल करिब २५ जनालाई रोजगारी दिँदै आएको छ भने व्यावसायिक रुपमा सञ्चालन भएपछि ८० जनालाई रोजगारी दिने जनाएको छ ।