काठमाडौं। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा दुई अर्ब ४४ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैङ्कले वाणिज्य बैङ्कमा एक अर्ब ९५ करोड २० लाख, विकास बैङ्कमा ३६ करोड ३० लाख र फाइनान्स कम्पनीमा १२ करोड २० लाख रुपियाँ गरी कुल दुई अर्ब ४४ करोड रुपियाँ लगानी गर्न लागेको छ ।
राष्ट्र बैङ्कले २०८० माघ ५ गतेदेखि २०८१ माघ ५ गतेसम्म ३६६ दिनका लागि बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दतीमा उक्त रकम राख्न लागेको हो ।
मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमाभित्र रहेको, न्यूनतम पुँजीकोष अनुपात कायम रहेकोलगायतका सर्त पुगेका बैङ्क तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतीमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सकिने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ ।