काठमाडौं। ४२ मेगावाटको अप्पर मोदी ‘ए’ जलविद्युत आयोजनामा एनएमबि बैंकले ४ अर्ब ४० करोड लगानी गर्ने भएको छ। जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा लगानी हुने भएको हो।
आयोजनामा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।
एनएमबि बैंक, एचआईइडीसीएल र मोदी जलविद्युत कम्पनीबीच सोमबार त्रिपक्षीय सम्झौता भएको छ। आयोजनाको अनुमानित लागत करिब १० अर्ब ५७ करोड रुपैयाँ हो। यसमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीबाट जुटाउन लागिएको हो। सर्वसाधारण र विद्युत प्राधिकरणले स्वपुँजी लगानी गर्नेछन्।
कम्पनीले आगामी वर्षदेखि निर्माणको काम सुरु गर्ने तयारीमा छ। निर्माण थालेको चार वर्षमा पूरा गर्ने योजना छ। ऋण सम्झौतामा हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सूर्यप्रसाद पौडेलले समयमै निर्माण सक्ने प्रतिबद्धता जनाए।
प्रस्तावित आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ।
कम्पनीले आयोजनामा सिभिल र हाइड्रोमेकानिकलतर्फको कामका लागि गत असार ३१ गते ठेक्काको सूचना निकालेकामा अहिले आवेदन दिएका कम्पनीको मूल्यांकन गर्ने काम भइरहेको कम्पनीले जनाएको छ।