चितवन। नारायणगढ–मुग्लिन सडक खण्ड थप ३ साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः ३ साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।
यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो ४ घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ। आउँदो शनिबार पहिलो ३ साताको समय सकिँदै छ । बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको छ।
हालसम्म १४ मिटर ढिस्को भत्काइसकिएको छ । त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटरमध्ये आधा ढिस्को शनिबारसम्म भत्काइसक्ने अनुमान छ।