काठमाडौं। बुटवल–नारायणगढ सडकखण्डको निर्माण कार्य तीन वर्षमा ११ प्रतिशत मात्र पूरा भएको छ। साढे तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सडक निर्माणको काम तीन वर्षमा ११ प्रतिशत मात्र पूरा भएको हो।
समयमा पूरा नभएपछि निर्माण कम्पनीले म्याद थपको गृहकार्य थालेको छ । १७ अर्ब रुपैयाँको लागतमा बन्ने यो सडकका लागि एसियाली विकास बैंकले ८५ प्रतिशत रकम उपलव्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।
निर्माण शुरू भएपछि अनेकौं समस्या झल्नुपरेको भन्दै निर्माण कम्पनीले म्याद थप गर्न आयोजनासँग माग गरेको छ । आयोजनालाई पठाएको निवेदनमा निर्माण कम्पनीले सडक निर्माण शुरू भएपछि कोरोना कहर निम्तिएको, लगातारको वर्षातले गर्दा साईट क्लियरमा ढिलाई भएको, कामको लोड पनि थपिएको र जसले गर्दा निर्माण कार्य प्रभावित भएको उल्लेख गरेको छ । सडक आयोजनासँग निर्माण कम्पनीले दुई वर्ष म्याद थप गर्न माग गर्दै पत्र पठाएको हो ।
२०७५ पुसमा ठेक्का सम्झौता भएको यो सडक २२ साउन २०८० सम्म निर्माण सक्नुपर्ने उल्लेख छ । तर, निर्माण कम्पनीले २०८२ साउनसम्म निर्माण सक्नेगरी पत्र पठाएको बताइएको छ। म्याद थपको माग निर्माण कम्पनीले गरेपछि आयोजनाले सडकको अवस्थाबारे बुझ्न विज्ञहरूको टोली खटाएको छ ।