भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकामा जनस्तरबाट १९ किलोमिटर बालुवा–घोडेटार सडक निर्माण सम्पन्न भएको छ। स्थानीयले व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट रु ६१ लाख ७६ हजार लागत सङ्कलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण सम्पन्न गरेका हुन्।
हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि ‘स्काभेटर’ अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालीन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८ स्थानीयलाई सम्मान गरिएको छ । जनस्तरमा जागरण जुटाएर रु आठ सयदेखि पाँच लाख ४० हजारसम्म आर्थिक सहयोग गर्ने स्थानीयवासीलाई गाउँपालिकाले सम्मान गरेको हो । यो सडक निर्माणको लागि व्यक्तिगत रुपमा रु २८ लाख ६४ हजार नौ सय ९३ र विभिन्न सङ्घ संस्थाबाट रु ३३ लाख ११ हजार छ सय लगानी भएको स्थानीयले बताएका छन्।