काठमाडौं। एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरूण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । आयोजनाको ईआईए प्रतिवेदन तयार भई स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइएको हो।
वन तथा वातावरण मन्त्रालयले आयोजनाको ईआईए प्रतिवेदन रायका लागि सार्वजनिक समेत गरेको छ ।
अपर अरूण नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर अरूण हाइड्रोइलेक्ट्रिक लिमिटेडबाट अगाडि बढाइँदैछ । संखुवासभाको भोटखोला गाउँपालिकामा पर्ने यो आयोजनामा विश्व बैंकको नेतृत्वमा लगानीकर्ताहरुले लगानी गर्दैछन् ।
यस आयोजनाबाट वार्षिक औसतः ४ हजार ५४९.५७ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने छ ।
अरूण नदीबाट विद्युतगृहसम्म सुरुङमार्फत पानी फर्काउँदा करिव १६.४५ किलोमिटरमा पानीको बहाव कम हुने समेत ईआईए प्रतिवेदनमा उल्लेख छ । यो आयोजनामा बाँध, सुरुङ, अडिट र विद्युत् क्षेत्रमा विभिन्न सहायक संरचना बन्ने भएका छन् । यो आयोजना जल प्रवाहका लागि आवश्यक हाइड्रोलिक क्षमता कम भएको अवस्थामा पिकिङ अन अप रिभर (पीआरओआर) मोडलमा सञ्चालन हुने छ ।