काठमाडौं। नागढुंगा सुरुङमार्गको मुख्य सुरुङ खन्नमात्र ७३.६० मिटर मात्र बाँकी । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ। सुरुङभित्रको ‘कङ्क्रिट’को काम पनि ५१ प्रतिशत सकिएको छ। यो काम सकिएपछि सुरुङमार्गभित्र अक्सिजन, बत्ती र सञ्चारलगायत अत्यावश्यक सेवा (टनेल फ्यासिलिटी) पुर्याउन बाँकी छ ।
सुरुङ मार्गमा भौतिक निर्माण पूरा गरिसकेपछि सवारीसाधन सञ्चालन गर्न एक सय जनाको जनशक्तिले निरन्तर काम गर्नुपर्ने परियोजनाको परामर्श दातृ संस्था निप्पन कोइले बताएको छ। यसबाहेक केही अवरोधलाई छिचोल्नसके आगामी वर्षभित्र यो मार्ग पूर्णरुपमा सञ्चालन हुनेछ । सुरुङमार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ नागढुङ्गा बलम्बुसम्मको दूरी तीन किलोमिटरले कम हुनेछ ।
सडकको दूरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङमार्गको पश्चिमी प्रवेश विन्दुदेखि नागढुङ्गासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई दृष्टिगत गरी एक व्यक्तिको झन्डै आधाघन्टा समय बचत हुने जनाएको छ। यसले यसअघि अनुभव नभएको यातायातका लागि सुरुङमार्ग बनाउने राष्ट्रिय क्षमता वृद्धि गर्नुका साथै प्रविधि हस्तान्तरणमा सहयोग पुग्ने पनि बताइएको छ।