मुगु। खत्याड गाउँपालिकाबाट रारा राष्ट्रिय निकुञ्जको मिली चौरसम्म जोड्ने सड्क निर्माणमा राष्ट्रिय निकुञ्ज अवरोध बनेको छ। रारा राष्ट्रिय निकुञ्जको मिली चौरसम्म जोड्ने सड्क निर्माणका लागि अनुमति नदिँदा सडक निर्माण कार्य रोकिएको हो।
जसका कारण १५ किलोमिटर यात्रा गरेर पुगिने क्षेत्रमा स्थानीयवासीले ७८ किलोमिटरको दूरी पार गरेर जान बाध्य छन्। अहिले खत्याडबासीले सदरमुकाम जानका लागि जुम्लाको बाटो प्रयोग गरिरहेका छन्।
खत्याड गाउँपालिका–१ मसानेदेखि रारा राष्ट्रिय निकुञ्ज अन्तर्गत मिलिचौरसम्म १५ किलोमिटर दूरी छ। यो क्षेत्रमा सडक जोड्न जिल्लास्थित राजनीतिक दल, सम्बन्धित खत्याड गाउँपालिका र जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेश सांसदहरूले पहल गरेपनि निकुञ्जको अवरोधका कारण सडक निर्माण हुन सकेको छैन।
सडक नहुँदा खत्याड गाउँपालिकादेखि जुम्लाको कनकासुन्दरी गाउँपालिका हुँदै सदरमुकाम गमगढी पुग्न ७८ किलोमिटर लामो यात्रा गरेर जिल्ला सदरमुकाम गमगढी पुग्नु परेको छ।