काठमाडौं। ३.५ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको छ। दक्षिण पर्वतको पैंयुँ र विहादी गाउँपालिकामा पैयुँखोला हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाको सम्पूर्ण काम सम्पन्न भएको हो।
गत सोमबारदेखि आयोजनाको परीक्षणसमेत थालिसकेको छ । विसं २०७५ देखि निर्माण सुरु भएको आयोजनको काम पाँच वर्षमा सकिएको हो ।
आयोजनाको मुहान पैंयुँ गाउँपालिका वडा नं २ वेउलीवासको छचन्नेमा रहेको छ भने विद्युत् गृह विहादी गाउँपालिका–६ शालिग्रामको घाङ्ग्रेमा रहेको छ । छचन्नेदेखि तीन हजार छ सय मिटर लामो पाइपलाइनमार्फत घाङ्ग्रेमा रहेको पावर हाउसमा पानी खसालिएको छ ।
नेपाल विद्युत् प्राधिकरणबाट विसं २०७४ मा उत्पादन अनुमतिपत्र लिएको आयोजनाले दुई वर्षभित्र उत्पादन गर्ने अवधि भए पनि कोरोना सङ्क्रमण र बाढीपहिराका कारण समायावधि दुई वर्ष थप गरिएको थियो । झण्डै पाँच वर्षको अवधिमा निर्माण कार्य सम्पन्न भएको छ।