काठमाडौं । ब्रह्मायणी जलविद्युत् आयोजनाको लागि ६ अर्ब १५ करोड लागत लाग्ने अनुमान गरिएको छ। ब्रह्मायणी हाइड्रो पावर कम्पनी प्रालिले निर्माण गर्ने ३६.५२ मेगावाटको ब्रह्मायणी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न ६ अर्ब १५ करोड ३२ लाख रुपैयाँ लागत अनुमान गरिएको हो।
जुगल गाउँपालिकाको वडा नम्बर २ र ३ मा प्रस्ताव गरिएको आयोजनाको काम २०८२ साउनभित्र सम्पन्न गरिने भएको छ।
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भइसकेको आयोजनाको निर्माण तथा उपकरण जडान पूरा गरी २०८२ साउनभित्र उत्पादन थाल्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
आयोजना पूरा भएपछि वार्षिक २१६।६६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रतिवेदनमा उल्लेख छ । जसमा वर्षायाममा १५१.७३ गिगावाट र सुख्खायाममा ६४.९३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत १५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको पाङटाङ सबस्टेसनमा जोडिने छ । यो लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।