काठमाडौँ। १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको प्राविधिक परीक्षण सुरु भएको छ । मध्य भोटेकोसी जलविद्युत् कम्पनीले शुक्रबारदेखि आयोजनाको परीक्षण सुरु गरेको हो।
आयोजनाको बाँध, इन्टेक, गेट, डिस्याण्डर, स्टपलग, सुरुङ लगायतका संरचनाहरूको प्राविधिक परीक्षण सुरु गरेको कम्पनीले जानकारी दिएको छ । आयोजनाको जलशाय, डिस्याण्डर तथा सुरुङमा पानी भरी परिक्षण हुनेछ ।
प्राविधिक परीक्षणको काम माघ १५ गतेसम्म चल्नेछ । परीक्षण अवधिभर आयोजनाको बाँधस्थलमा नदीको पानी छेक्ने र छोड्ने कार्य गरिरहनुपर्ने भएकोले भोटेकोसी नदीको आसपास कार्यहरू नगर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले सूचना जारी गरी बाँधस्थलको तल्लो तटीय क्षेत्रअन्तर्गत भोटेकोसी नदीको किनारामा पर्ने स्थानहरूमा पानीको सतह घटबढ भइरहने जानकारी दिएको छ । उक्त समयमा नदीमा माछा मार्ने, नुहाउने, लुगा धुने, वस्तुभाउ चराउने र ढुंगागिट्टी उत्खनन गर्ने तथा नदीमा कुनै पनि किसिमका कार्यहरू नगर्न आग्रह गरेको छ ।