काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले आफ्ना सेयरधनीहरूलाई १ अर्ब १९ करोड रुपैयाँ भन्दा बढी नगद लाभांश दिने भएको छ।
कम्पनीको पुस २९ गते सम्पन्न १२औँ वार्षिक साधारणसभाले सेयरधनीहरूलाई १ अर्ब १९ करोड रुपैयाँ भन्दा बढी नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरूलाई चुक्ता पुँजीको ५.२६३ प्रतिशतका दरले हुने १ अर्ब १९ करोड ८७ लाख २६ हजार २ सय ८३ नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय भएको छ। यस्तै, कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरिएको जनाइएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनीबाट ३ लाख ७४ हजार ४ सय १४ रुपैयाँ बराबरको खर्च भएकोमा सोको अनुमोदन गरिएको छ । कम्पनीको सुरु अधिकृत पुँजी ५० अर्ब रुपैयाँ र हालको चुक्ता पुँजी २२ अर्ब ७८ करोड रुपैयाँ जनाइएको छ।