अर्घाखाँची। पूर्वपश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङे–सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको छ । साँघुरो सडक, खाल्टाखुल्टी तथा पुरानो कालोपत्र भएकाले जीर्ण बनेको गोरुसिङे–सन्धिखर्क सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्नेगरी काम अघि बढेको हो ।
गोरुसिङेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर रहेको छ। गोरुसिङेबाट पिरापानीसम्म झण्डै १५ किलोमिटर सडक विस्तार तथा मर्मतको काम सम्पन्न भइसकेको शिवपुर सडक डिभिजन कार्यालयले जनाएको छ। बाँकी रहेको सडकमा पाँच निर्माण कम्पनीले काम गरिरहेका छन् ।
यस आर्थिक वर्षको अन्त्यसम्ममा झण्डै १८ किमी सडकमा नयाँ कालोपत्र गरिने भएको इन्जिनियर पाण्डेले बताए । सडक निर्माण तथा विस्तारको काम समयमै सम्पन्न गर्नका लागि सडकलाई खण्ड–खण्ड गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको बताइएको छ। यस आवमा रू ३३ करोड लागतमा सडक निर्माण तथा मर्मत भइरहेको शिवपुर सडक डिभिजन कार्यालयले जनाएको छ ।