पर्वत।पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लास्थित मोदीखोला माथि रहेको मोटरेबल पुलको अवस्था जीर्ण बन्दै गएको छ। निर्माण भएको १३ वर्षसम्म पनि मर्मत नहुँदा पुल जीर्ण बन्दै गएको हो।
सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र दोबिल्ला फलेवास–सडकको दोबिल्लास्थित मोदीखोला माथि रहेको मोटरेबल पुल जीर्ण बन्दा जोखिम मोलेरै हिँड्नुपर्ने बाध्यता छ।
पुलको अधिकांश ठाउँमा नट बोल्टु खुस्किएको, पुलमा रहेका पाता उप्किएका तथा ठाउँ ठाउँमा खिया लागेको, पुलको दुवै छेउमा माटो जमेको छ । यसको मर्मतको लागि हालसम्म कुनै निकायबाट ध्यान नदिएको स्थानीयको गुनासो छ।
पुलका पातानै उप्किएर खाल्डा परेका छन् । गत चैतमा कुश्मा नगरपालिकाको पहलमा पूर्वाधार विकास कार्यालयले सामान्य मर्मत गरेको भए पनि फेरि वर्षायामको बाढीले झनै जोखिम बनाएको छ ।
पुलबाट पाँच स्थानीय तहका ४५ भन्दा बढी वडामा सवारी साधन आवातजावत आउने गर्दछन् । दैनिक सयौँको सङ्ख्यामा सवारी साधन चल्ने उक्त पुल १५ टन भारवहन क्षमताको भएको भए पनि ओभरलोड गरी लैजाँदासमेत कुनै निकायले कारबाही नगरेको स्थानीय स्थानीयको भनाइ छ।