काठमाडौं। ठेक्का लिएर निर्धारित समयमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालय भक्तपुरले स्पष्टिकरण सोधेको छ। कार्यालयले समयमा काम नगर्ने पाँच निर्माण कम्पनीलाई स्पष्टिकरण सोधेको हो।
कार्यालयले आज (बुधबार) सूचना निकाल्दै जिल्लाभित्रका विभिन्न सडक स्तरोन्नतीको ठेक्का लिएर काम नगरेपछि कार्यालयले पटकपटक मौखिक, टेलिफोन, पत्राचार गरेपनि ती निर्माण व्यवसायी सम्पर्क नआएपछि कार्यालयले ठेक्का तोड्ने चेतावनीसहित सात दिने स्पष्टिकरण छ।
सात दिनभित्र चित्तबुझ्दो स्पष्टिकरणसहित उपस्थित नभए सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता तोड्ने चेतावनी दिएको छ।
साथै कार्य सम्पादन जमानत बापतको रकम जफत गर्नुका साथै सम्झौता अन्त्य भएको कारणले सम्झौता बमोजिम बाँकी रहेको कार्य पूरा गर्न जे जति रकम आवश्यक पर्छ सो रकम त्यसरी सम्झौता बमोजिम कार्य नगर्ने निर्माण व्यवसायीबाट सरकारी बाँकी सरह असूल उपर गरिने पनि कार्यालयले चेतावनी दिएको छ।
