काठमाडौं। सरकारले हाल निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको काम आगामी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।
राष्ट्रिय योजना आयोगले तयार गरिरहेको १६औँ पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) को दोस्रो एकीकृत मस्यौदा अनुसार हाल निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको काम आगामी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको हो।
सरकारले आगामी ५ वर्षमा डेढ लाख हेक्टरभन्दा बढी जमिनमा सिँचाइ गर्ने लक्ष्य निर्धारण गरेको छ । मस्यौदाअनुसार आगामी ५ वर्षमा १७ लाख २२ हजार ८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य निर्धारण गरिएको छ । आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा १५ लाख ५५ हजार ५०८ हेक्टर क्षेत्रमा सिँचाई सुविधा पुगेको थियो ।
यीमध्ये १० लाख ६९ हजार २३५ हेक्टर जमिनमा सतह सिँचाइ परियोजनाबाट सुविधा विस्तार गर्ने योजनाको लक्ष्य छ । २०७९/८० सम्ममा सतह सिँचाइ परियोजनाबाट १० लाख २२ हजार ७३५ हेक्टर जमिन सिँचित भएको थियो ।
भूमिगत सिँचाइबाट ६ लाख २५ हजार ६५४ हेक्टर, लिफ्ट सिँचाइबाट २७ हजार ११९ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने अहिले बनिरहेको १६औँ योजनाको एकीकृत मस्यौदाको लक्ष्य छ ।
योजनाको मस्यौदाअनुसार आगामी ५ वर्षभित्र करिब ५० प्रतिशत क्षेत्रफलमा वर्षैभरी सिँचाई सुविधा पुर्याउने लक्ष्य निर्धारण गरेको छ । आव २०७९/८० सम्ममा करिब ३९ प्रतिशत क्षेत्रफलमा वर्षैभरि सिँचाइ सुविधा पुगेको छ ।